सूनौला हजार दिनसम्बंधी जानकारी चाहिएमा : ९८०८७८५९७७ मा सम्पर्क गर्नु होला

पहिलो चरणः ९ महिनासम्मको गर्भवती अवस्था


 गर्भरहेदेखि नौ महिनासम्मको अवधी पहिलो चरण हो 

 

गर्भावस्थामा हरेक गर्भवती महिलाले

  • गर्भावस्थामा महिलाले आफ्नो र गर्भमा हुर्किरहेको शिशुको लागि हरेक दिन साविक भन्दा थप दुई पटक पोषिलो खाना खानुपर्छ । हरेक दिन हाम्रो गाँउघरमा उपलब्ध हुने विभिन्न प्रकारका चार समूहका खाना विशेष गरेर अन्न (चामाल, मकैं, जौं, गहुँ, आलु, जुनेलो, फापर आदि), गेडागुडी (भटमास, बोडि, केराउ, चना, दालहन आदि), पशुपंक्षी जन्य खानेकुराहरू (जस्तैः मासू, दूध, दहि, पनिर, अण्डा आदि), फलफूल र तरकारीहरु (जस्तैः पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी) तथा हरियो सागपातहरू खानुपर्छ । आमा र शिशुको लागि दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुन मात्र खानुपर्छ ।
  • हरेक गर्भवती महिलाले कम्तिमा चार पटक गर्भ जाँच गराउनुपर्छ । गर्भवती महिलाको स्वास्थ्य र पोषणको अवस्थाका साथै गर्भ भित्र हुर्किरहेको बच्चाको बृद्धि र बिकास थाहा पाउन गर्भवती जाँच महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले निम्न समयमा कम्तिमा पनि चारपटक गर्भवती जाँच गराउनुपर्छ

पहिलो परीक्षणः चौथो महिना

दोस्रो परीक्षणः छैटौं महिना

तेस्रो परीक्षणः आठौं महिना

चौथो परीक्षणः नवौं महिना

  • पहिलो गर्भ जाँच गर्दा आफ्नो एचआईभीको अवस्थाको जाँच गराई गर्भमा रहेको बच्चालाई एचआईभी हुनबाट बचाउन सोको वारेमा परामर्श लिनुहोस् ।
  • गर्भवती भएको चौथो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दिनको एक चक्कि आइरन र फोलिक एसिड खानुहोस् । आइरन चक्कि र फोलिक एसिड सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ । पहिलो परीक्षणमा स्वास्थ्यकमीसँग जुकको औषधी (एलबेन्डाजोल) लिनुपर्छ । गर्भवती महिला र शिशुलाई टिटानस र भ्यागुते रोगबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिडि खोप पनि लिनुपर्छ ।
  • गर्भावस्थामा हुनसक्ने जटिलताको रोकथामका लागि जन्मपूर्व तयारी गर्नुपर्छ । यसका लागि सबै परिवारले क) उपचारको लागि आवश्यक पैसा ख) यातायातको साधन ग) सुत्केरी गराउने स्वास्थ्य संस्था घ) अपरेशन/शल्यक्रिया गरेर बच्चा निकाल्नु परेमा रगत दिन सक्ने तीन जना ब्यक्ति पहिला नै पहिचान गरी राख्नुपर्छ । पूर्व तयारी गरिराखेमा स्वास्थ्य संस्थासम्म पुग्ने र स्वास्थ्य सेवामा लिनमा हुने ढिलाईलाई कम गर्न सकिन्छ ।

 

 

  • खानेपानीलाई शुद्धिकरण गरेर मात्र पानी पिउनुपर्छ । पानीलाई उमालेर, क्लोरिन झोल हालेर वा फिल्टर गरेर शुद्धिकरण गरेर पिउनुपर्छ ।
  • गर्भवती महिलाले सधै चर्पि /शौचालयमा मात्र दिसापिसाब गर्नुपर्छ । आफ्नो घरपर पनि सधै सफा राख्नुपर्छ ।
  • खाना पकाउन अघि, खाना खानु वा खुवाउनु अघि र दिसापिसाब गरेपछि साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।
  • लामखुट्टेको टोकाईबाट हुने रोगहरूबाट बच्नको लागि हरेक गर्भवती आमाले कीटनाशक औषधीले उपचार गरिएको झुलभित्र मात्र सुत्नुपर्छ ।

 

 

गर्भवती महिलाले निम्न कुराहरु गर्नु हुदैन

  • गह्रो भारी बोक्ने र गह्रो काम गर्नु हुदैन । हल्का घरायसी कामहरु गर्नुपर्छ र थप आराम पनि गर्नुपर्छ । त्यसैले श्रीमान तथा घरका अन्य सदस्यले पानी ल्याउने, गह्रौ भारी बोक्ने जस्ता घरका काममा उनलाई सघाउनुपर्छ ।
  • धुम्रपान, मदिरा, लागुपदार्थ सेवन नर्गर्ने ।

 

 गर्भमा रहेको शिशुको राम्रो बृद्धि र बिकासको लागि, हरेक गर्भवती महिलाले

  • सुमधुर गीत संगीत सुन्ने, सधै खुशि हुने र सकारात्मक कुराहरु मात्र सोच्नाले गर्भ भित्रको शिशुलाई पनि राम्रो वातावरण दिन्छ ।
  • नरिसाउने वा तनाव नलिने
  • गर्भमा रहेको शिशुले बाहिरको कुरा सुन्ने र महशुश गर्न हुनाले आमाबुवाले शिशुसँग बिस्तारै र सुमधर आवाजमा कुरा गर्नुपर्छ । यसले शिशुको बिकासमा सहयोग पु¥याउनका साथै आमाबुवा र शिशुको बिचमा राम्रो सम्बन्ध बनाउन मद्धत गर्छ ।

याद राखौं

२० बर्ष नपुगि बच्चा जन्माउँदा आमा र शिशु दुवैको लागि खतरापूर्ण हुन्छ । २० बर्ष भन्दा पहिला गरिएको विवाहलाई नेपालको कानुनले मान्यता दिएको छैन । २० बर्ष अगाडि विवाह गर्ने र गराउने दुवैलाई कानुनी रुपमा सजाय हुने व्यवस्था रहेको छ ।

आँखा तिरमिराएर धमिलो देख्ने भएमा तथा हात वा मुख सुन्निएमा वा कडासँग तल्लो पेट दुखेमा वा हात खुट्टा अररो भई काम छुटेमा वा मुर्छा परेमा वा टाउको साह्रै दुखेमा वा अलिकति पनि रगत बग्नु खतराको लक्षण हो । यि मध्ये कुनैपनि लक्षण देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य चौकिमा लैजानुपर्छ ।