सूनौला हजार दिनसम्बंधी जानकारी चाहिएमा : ९८०८७८५९७७ मा सम्पर्क गर्नु होला

दोस्रो चरणः शिशुजन्मे देखि ६ महिना


 शिशु जन्मेदेखि ६ महिनासम्मको अवधि दोस्रो चरण हो

 

स्वास्थ्य संस्थामा मात्र प्रसूति गराऔं । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा

  • स्वास्थ्य संस्थामा निर्मलीकरण गरिएको औजारहरु प्रयोग हुने हुनाले संक्रमण हुदैन
  • प्रसव अवस्थामा हुनसक्ने जटिलताहरुको तुरुन्त व्यवस्थापन
  • पाठेघरमा हुनसक्ने समस्याका लागि औषधी/इन्जेक्सन
  • नाभीको उचित व्यवस्थापन
  • नवजात शिशुको अत्यावश्यक स्याहार
  • नवजात शिशु तथा सुत्केरी आमामा हुनसक्ने जटिलताको रोकथाम

 

८ घण्टा भन्दा बढी लामो ब्यथा लागेमा वा हात खुट्टा अररो भई काम छुटेमा वा मुर्छा परेमा वा प्रसव वा सुत्केरी अवस्थामा ह्वाल ह्वाल रगत बगेमा वा हात, खुट्टा वा नाल पहिला निस्केमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

 

गर्भवती जाँचको प्याकेजसँगै नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराए वापत हरेक सुत्केरी आमालाई हिमाली भेगमा रु. १५००, पहाडी भेगमा रु. १,००० र तराईमा रु. ५०० यातायात खर्च प्रदान गर्छ ।

 

सुत्केरी आमाको बिशेष हेरचाह

  • सुत्केरी आमा र नवजात शिशुलाई तीन पटक क) शिशु जन्मेको २४ घण्टा भित्र ख) तीन दिनमा ग) ७ दिनमा स्वास्थ्य संस्थामा गई जाँच गराऔं  
  • पर्याप्त स्याहार तथा सहयोग पाउने आमाको शारीरिक र मानसिक स्वास्थ्य लाभ छिटो हुन्छ र दूध पनि प्रसस्त आँउछ
  • विभिन्न प्रकारका चार समूहका खाना विशेष गरेर अन्न (चामाल, मकैं, जौं, गहुँ, आलु, जुनेलो, फापर आदि), गेडागुडी (भटमास, बोडि, केराउ, चना, दालहन आदि), पशुपंक्षी जन्य खानेकुराहरू (जस्तैः मासू, दूध, दहि, पनिर, अण्डा आदि), फलफूल र तरकारीहरु (जस्तैः पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी) तथा हरियो सागपातहरू खुवाउनुपर्छ । आमा र शिशुको लागि दुई बालबालिकाको चिन्ह भएको आयोडिन नुन मात्र खानुपर्छ
  • खानेपानीलाई शुद्धिकरण गरेर मात्र पानी पिउनुपर्छ । पानीलाई उमालेर, क्लोरिन झोल हालेर वा फिल्टर गरेर शुद्धिकरण गरेर पिउनुपर्छ

 

अत्यावश्यक नवजात शिशु स्याहार

  • जन्मनासाथ नवजात शिशुलाई सफा र नरम कपडाले पुछि, सफा नरम र न्यानो कपडाले बेरी न्यानो राखौं 
  • नवजात शिशुलाई आमासँगै टाँसेर राखौं । शिशुको वजन २.५ किलोग्राम भन्दा कम भएमा आमा वा बुवाले हरेक दिन आफ्नो नाङ्गो शरीरमा टाँसी राख्ने । यसलाई “कङगारु” स्याहार भनिन्छ । कङगारु स्याहारमा नवजात शिशुलाई आमा वा बुवाको नाङ्गो छातिमा कपडाले बेरेर गर्भमा बसेजस्तै आसनमा राखिन्छ । आमाबुवाको श्वाशप्रश्वाश तथा छातिको गति, स्वर तथा मुटुको धड्कनको आवाज, छालाको स्पर्शले पनि आमाबुवासँग शिशुको आत्मियता बढाउन मद्धत गर्छ । शिशुको बिकासमा यसको महत्वपूर्ण योगदान पु¥याउँछ 
  • नवजात शिशुलाई जन्मेको २८ घण्टापछि मात्र नुहाइदिऔं
  • नवजात शिशुलाई जन्मेको १ घण्टाभित्र आमाको पहेलो बिगौती दूध खुवाऔं । बेलाबेलामा नवजात शिशुलाई दूध खुवाउनाले प्रशस्त दूध आउँछ । आमाको विगौती दूध शिशुको लागि निकै लाभदायक हुन्छ । यसले पहिलो खोपको काम गर्छ । शुरुमा आमाको दूधको मुन्टा नरम हुनाले नवजात शिशुलाई दूध चुस्न सजिलो हुन्छ र आमाको रगत बग्न पनि कम हुन्छ 
  • आमाको दूधमा शिशुलाई चाहिने आवश्यक खाना र पानीको मात्राका हुन्छ । चर्को गर्मीमा पनि आमाको दूधले नै नवजात शिशुको तिर्खा मेटाउँछ । पानी तथा अन्य झोलिलो पदार्थले नवजात शिशुलाई झाडापखाला र निमोनिया जस्ता रोगहरू लाग्न सक्छ । दिन र रात गरेर नवजात शिशुलाई ८ देखि १२ पटकसम्म स्तनपान गराऔं 
  • बाल्यवस्थामा हुने टिबिबाट शिशुलाई बिसिजि खोप दिऔं 
  • नवजात शिशुको नाभी सफा राख्ने र स्वास्थ्य संस्थामा नाभी मलम लगाइदिएको सुनिश्च्ति गर्ने । यदि घरमा सुत्केरी भएमा महिला स्वास्थ्य स्वयंम सेविकासँग नाभी मलम लिनुपर्छ 
  • नवजात शिशुले छिटो छिटो सास फेरेमा र मुख वरिपरि निलो भएमा वा सुस्त भएमा, सानो वा कम तौल भएमा (वजन २.५ किलोग्राम भन्दा कम) वा नाभी पाकेर वरिपरि रातोपना फैलिएमा वा शरीरमा एउटा ठुलो वा १० वटाभन्दा बढी पिप भरिएका स–साना खटिरा देखा परेमा, वा ज्वरो आएमा वा हात खुट्टा चिसो भएमा, दुध चुस्न नसक्ने जस्ता कुनै पनि लक्षणहरु देखिएमा नवजात शिशुलाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाऔं
  • नवजात शिशुलाई छुनुअघि साबुन पानीले हात धोऔं  
  • नवजात शिशुको दिसा पनि चर्पिमा फ्याल्नुपर्छ । नवजात शिशुको दिसा सफा गरेपछि र दूध खुवाउनु अघि साबुनपानीले मिचिमिचि हात धोऔ 

 

 

२९ दिन देखि ६ महिनासम्म

  • राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार आफ्नो शिशुलाई निम्न खोपहरू दिनुहोस्

          क) ६ हप्ता वा ४२ दिनः भ्यागुते रोग, लहरे खोकि, टिटानस, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्युएन्जा बि, पोलियो र निमोनिया बाट बच्नका लागि डिपिटि–हेप बी–हिब, पोलियो र पिसिभि  (पहिलो डोज) दिने

          ख) १० हप्ताः भ्यागुते रोग, लहरे खोकि, टिटानस, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्युएन्जा बि, पोलियो र निमोनिया बाट बच्नका लागि डिपिटि–हेप बी–हिब, पोलियो र पिसिभि (दोस्रो डोज) दिने

          ग) १४ हप्ताः भ्यागुते रोग, लहरे खोकि, टिटानस, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्युएन्जा बि, पोलियो र निमोनिया बाट बच्नका लागि डिपिटि–हेप बी–हिब, पोलियो र आइपिभि दिने

  • लामखुट्टेको टोकाईबाट हुने रोगहरू जस्तै औलो, डेङगु, जिकाबाट बच्नको लागि आमा र शिशु कीटनाशक औषधीले उपचार गरिएको झुलभित्र मात्र सुत्नुपर्छ
  • शिशुको आवश्यक बृद्धि भए नभएको थाहा पाउन हरेक महिना बृद्धि अनुगमन गर्नुपर्छ । स्वास्थ्य संस्था वा गाँउघर क्लिनिकमा शिशुको बृद्धि अनुगमन गराउन सकिन्छ
  • स्वस्थ बच्चाको हरेक महिना तौल बढेको हुन्छ । यदि तपाईको शिशुको बृद्धि भएको छैन भन, उसको स्वास्थ्यमा केहि समस्या भएको हुनसक्छ
  • शिशु ६ महिना नपुगेसम्म आमाको दूधमात्र खुवाउनुपर्छ । आमाको दूधमात्र खुवाएमा शिशुलाई झाडापखाला, निमोनिया र कुपोषण हुनबाट बचाउँछ । ६ महिना नपुगेसम्म शिशुलाई अन्य कुनैपनि खानेकुरा वा झोल पदार्थ, पानी पनि चाहिदैन । गर्मीको बेलामा पनि आमाको दूधले नै शिशुको तिर्खा मेटाउँछ । कम्तिमा पनि दिन र रात गरेर १० पटक आमाको दूध खुवाउनुपर्छ
  • एचआईभि संक्रमित आमाले पनि शिशुलाई ६ महिना नपुगेसम्म आमाको दूधमात्र खुवाउनुपर्छ । यदि आमाको दूधको मुन्टामा घाउ भएमा वा शिशुको मुखमा घाउ भएमा आमाले तुरुन्त दूध खुवाउन बन्द गर्नुपर्छ
  • शिशु जन्मेको ३५ दिन भित्र आफ्नो गाँउपालिका वा नगरपालिकाको वडा कार्यालयमा गई शिशुको जन्मदर्ता गराउनुपर्छ

 

बाल उत्प्रेरणा

आमाले शिशुको अनुहारमा हेरेर कुराकानी गर्दे दूध खुवाऔं । यसले आमा र शिशुको बिच आत्मियता बढाँउछ । अनुहारमा हेर्दे कुराकानी गर्नाले, उसले निकाल्ने आवाजको उत्तर दिने, सुमधुर सङ्गित बजाउने, सुमसुमाउने र वरिपरि आवाज निकाल्ने रङ्गिन खेलौनाहरू झुण्डाउने

शिशुलाई हल्का तेल मालिस गरौं । मालिस गर्दा पनि उनिहरुसँग मिठा कुराकानी गर्ने गरौं शिशुलाई सधै सफा राखौं र शिशुलाई सुताउने ओछयान सफा राख्ने

शिशुलाई धुवाँमा कहिल्यै नराखौं । यसले उनिहरुलाइ श्वाशप्रश्वाश सम्बन्धी समस्या हुनसक्छ

आमाबुवाको श्वाशप्रश्वाश तथा छातिको गति, स्वर तथा मुटुको धड्कनको आवाज, छालाको स्पर्शले पनि आमाबुवासँग शिशुको आत्मियता बढाउन मद्धत गर्छ

 

याद राखौं

  • संगीत र आमाबुवाको आवाजले शिशुलाइै सकारात्मक प्रतिक्रिया दिन्छ
  • शिशुले रोएर, टाउको घुमाएर, नाक वा आँखिभौ खुम्चाएर आफ्नो भावना व्यक्त गर्छन्
  • नजिकको बस्तुहरुलाई देखेर प्रतिक्रिया दिन्छन्
  • आमाबुवाको स्पर्श मनपराउँछन् र यो समयमा शिशुहरु औसत १६ घण्टा जति सुत्छन्