सूनौला हजार दिनसम्बंधी जानकारी चाहिएमा : ९८०८७८५९७७ मा सम्पर्क गर्नु होला

तेस्रो चरणः शिशु ६ महिना पुरा भएदेखि १२ महिना


शिशु ६ महिना पुरा भएदेखि १२ महिना सम्मको अवधि तेस्रो चरण हो

 

शिशु ६ महिना पुराभएदेखि आमाको दूधसँग थप पुरक खाना खुवाउन थालौं । आमाको दूध शिशुको लागि महत्वपूर्ण आहार हो, त्यसैले थप पुरक खानासँगै आमाको दूध खुवाइरहनुपर्छ ।

  • थप ठोस खाना खुवाउँदा खानाको प्रकार, पटक, मात्रा, बाक्लोपन, खुवाइ र सरसफाईमा ध्यान दिनुपर्छ ।

पटक

६–९ महिनाः आमाको दूधका साथै दिनमा तीन पटक पुरक खाना खुवाउनुपर्छ ।

९–१२ महिनाः आमको दूधसँगै तीन पटक पुरक खाना र एक पटक हल्का खाजा खुवाउनुपर्छ ।

१३–२४ महिनाः आमको दूधसँगै तीन पटक पुरक खाना र दुइ पटक हल्का खाजा खुवाउनुपर्छ ।

शिशु ९ महिनाको पुगेपछि खाजामा एउटा केरा वा मौसमी फलफूल दिनु राम्रो हुन्छ ।

 

मात्राः

शिशुलाई उमेर अनुसारको खुवाइ हुनुपर्छ ।

६ –९ महिनाको शिशुलाई शुरुमा २ देखि ३ चम्चा पुरक खानाबाट शुरु गर्दे बिस्तारै एक पटकमा १२५ मि.लि (१ चिया गिलास) बराबरको खाना खुवाउनुपर्छ ।

९ –१२ महिनाको शिशुलाई एक पटकमा १२५ मि.लि (१ चिया गिलास) बराबरको खाना खुवाउनुपर्छ ।

१२ –२४ महिनाको शिशुलाई एक पटकमा २५० मि.लि (२ चिया गिलास) बराबरको खाना खुवाउनुपर्छ ।

 

बाक्लोपना

शिशुलाई खुवाउने खाना बाक्लो र राम्ररी मिचेर नरम बनाएको हुनुपर्छ ।

प्रकार

शिशुलाई खाना शुरुगर्दा हाम्रो गाँउघरमा पाइने चामल, दालबाट बनेको जाउलो वा लिटो बाट शुरु गर्नुपर्छ । बिस्तारै शिशुलाई अण्डा खुवाउन शुरु गर्नुपर्छ । गाँउघरमा उपलब्ध चार समूहका खानाहरू शिशुलाई दिनहुँ खुवाउनुपर्छ । शिशुको खानामा क) अन्नः चामल, मकै, जुनेलो, जौं, फापर, गहुँ, आलु ख) दाल तथा गेडागुडीः केराउ, बोडि, भटमास, बदाम ग) खनिज, भिटामिन ए पाइने हरियो तरकारी, पहेलो फलफूल तथा सागपातहरु ग) पशुपंक्षी जन्यः अण्डा, माछा, मासु, पनिर, दूध, दही आदि दिनहु खुवाउनुपर्छ ।

खानामा दुइ बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन मात्र प्रयोग गर्नुपर्छ ।

सक्रिय खुवाइः आमाको दूध खाइरहेकोले अन्य नयाँ खानेकुरा खाना शिशुलाई समय लाग्न सक्छ । धैर्यतापूर्वक शिशुलाई खानको लागि प्रोत्साहन गर्नुपर्छ, जबरजस्ती गर्नुहुदैन । शिशुले कति खायो भन्ने थाहा पाउन उनीहरुलाई छुट्टै थाल वा कचौरामा खाना दिनुपर्छ ।


सरसफाईः झाडापखाल र अन्य संक्रामक रोगलाग्नबाट बचाउन सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । झोल खानेकुरा वा अन्य खाना दिदाँ सफा चम्चा र कप वा कचौरा प्रयोग गर्नुपर्छ । सफा र स्वस्थकर स्थानमा खानेकुरा राख्नुपर्छ । शिशुलाई खाना खुवाउन अघि, खाना बनाउन अघि, शिशुको दिसा धोएपछि साबुन पानीले मिचिमिचि हात धोऔ ।

जाउलो र सर्वेत्तम पिठो बनाउने तरिका

सर्वेत्तम पिठोको लिटो

हाम्रो गाँउघरमा सजिलैसँग उपलब्ध अन्न (चामल, कोदो, मकै, गहुँ, फापर, जुनेलो) वा गेडागुडीलाई (भटमास, चना, दालहरु, केराउ, बोडी, सिमी) मिसाएर सर्वेत्तम पिठो बनाउन सकिन्छ । पहिला अन्न र गेडागुडीलाई राम्ररी केलाउने र सफा बनाउने । दुई भाग अन्न र एक भाग गेडागुडी लिने । अन्न र गेडागुडीलाई छुट्टाछुट्टै भुट्ने । सँगै भुटेमा कुनै छिटो वा कुनै ढिलो भुटिने हुन्छ । भुटेको अन्न र गेडागुडीलाई छुट्टाछुट्टै पिध्नृ र पिठो बनाउने । तयार भएको पिठोलाई राम्ररी मिसाउने र हावा नछिर्ने गरि बट्टामा सुरक्षित तरिकाले राख्ने ।

 

तेल वा ध्युमा सर्वेत्तम पिठोलाई केही समय भुटेर पकाएको लिटोमा मह वा चिनि वा सख्खर वा दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन मिसाएमा लिटो थप स्वादिलो र पोषिलो हुन्छ ।

पोषिलो जाउलो

चामल, दाल वा गेडागुडी, हरियो तरकारी र सागपातलाई छुट्टा छुट्टै राम्रोसँग केलाउने । हरिया तरकारी र सागलाई राम्ररी पखालेर मसिनोे टुक्रा पार्ने । ध्यु वा तेल, चामल, दाल, बेसार, हरियो सागपात र तरकारीलाई एकै ठाँउमा राखेर एकछिन भुट्ने । आवश्यकता अनुसार पानी र दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन राखेर राम्ररी पकाउने ।

मासु (कुखुराको कलेजो) वा गेडागुडीको झोल राखेर जाउलो वा खिचडीलाई अझ पोषिलो र स्वादिलो बनाउन सकिन्छ ।

 

बाल उत्प्रेरण

  • साना खेलौना खोज्न लगाउने । शिशुहरु यसो गर्दा रमाउँछन् ।
  • शिशुलाई उसलाई मन परेको खेलौना लिनको लागि घस्रिन लगाउने
  • सहायता लिएर उभिन लगाउने
  • उनीहरुको मनपरेको खेलौना लुकाई दिएर यताउता खोज्न लगाउने
  • काखमा लिएर गीत गाउने, हात, खुट्टा चलाएर संगीतको तालमा चाल गरेर देखाउने
  • नमस्ते वा अभिभावदन गर्न सिकउने
  • शिशुलाई नामले बोलाउने
  • उनीहरुसँग धैर्यतापूर्वक खेल्न र खुवाउने
  • कथाहरु पढेर सुनाउने
  • शिशुहरु जन्मेदेखि नै आमाबुवाले उनीहरुप्रति माया र स्नेह व्यक्त गर्नुपर्छ । सानैमा गाँसिएको सम्बन्धले उनीहरुलाई सुरक्षित महशुस गराउँछ र पछि अरु बालबालिकासँग खेल्नसक्ने बनाउँछ ।

 

 

 

थाहापाई राखौं

राष्ट्रिय खोप तालिका अनुसार शिशुलाई निम्न खोप दिऔं ।
– ९ महिनाः निमोनिया, दादुरा र रुबेलाबाट बचाउन पिसिभि (तेस्रो मात्रा) र दादुरा रुबेलको पहिलो मात्रा
– १२ महिनाः जापानिज इन्सेफलाइटिसबाट बचाउन जापानिज इन्सेफलाइटिस
-  बर्षको २ पटक कार्तिक र बैशाखमा महिनामा हुने भिटामिन “ए” क्याप्शुल खुवाउनुपर्छ । दादुरा–रुबेला खोपको बेलामा पनि भिटामिन ए खुवाउन सकिन्छ । महिला स्वास्थ्य स्वंयम सेविका र स्वास्थ्यकर्मीले शिशु ६ महिना पुराभएपछि भिटामिन ए क्यापशुल दिन्छन् ।

  • मलेरिया, इन्सेफलाइटिस, चिकनगुनिया, डेङगु, जिकाजस्ता लामखुट्टेको टोकाईबाट हुने रोगहरूबाट बच्नको लागि शिशुलाई कीटनाशक औषधीले उपचार गरिएको झुलभित्र मात्र सुताऔं ।
  • शिशुको बृद्धि राम्ररी भएनभएको थाहा पाउन हरेक महिना शिशुको बृद्धि अनुगमन गराऔं । स्वस्थ शिशुको हरेक महिना तौल बढेको हुन्छ । यदि शिशुको तौल बढेको छैन वा तौल घटेको छ भने शिशुमा समस्या भएको बुुझ्नुपर्छ ।

 

एचआइभि संक्रमित आमाबाट जन्मिएको शिशुको हेरचाह

  • एचआइभी संक्रमित आमाबाट जन्मिएको शिशुको एचआइभी संक्रमणको अवस्था थाहा पाउन शिशु ६ हप्ता पुराभएपछि एचआईभीको जाँच गर्नुेपर्छ ।
  • एचआइभी पाजिटिभ आएमा पनि शिशुलाई ६ महिना पुरानभएसम्म आमाको दूध खुवाउनुपर्छ । एआरभी शुरु नगरेको शिशुलाई पनि ६ महिनासम्म आमाको दूध मात्र र ६ महिना पुराभएदेखि २ बर्षसम्म आमाको दूधसँगै अन्य पुरक खाना खुवाउनुपर्छ ।
  • एचआइभी नेगेटिभ देखिएको र एआरभी नलिएको शिशलाई पनि ६ महिना पुरानभएसम्म आमको दूध मात्र खुवाउनुपर्छ । ६ महिना पुरा भएपछि शिशुलाई १२ महिनासम्म सिफारिश गरिए बमोजिम आमाको दूधसँगै अन्य थप पुरक खाना खुवाउनुपर्छ । पर्याप्त र स्वस्थकर खाना खान थालेको १२ महिनापछि शिशुलाई आमाको दूध खुवाउन बन्द गर्दा हुन्छ।
  • लामो समयसम्म एचआईभीको औषधी खाइरहेको आमाले स्तनपान गराउँदा शिशुलाई जन्मेदेखि ६ हप्तासम्म दिनहुँ एनपिभि दिनुपर्छ ।